सङ्खुवासभाको चैनपुरबाट आपराधिक लाभ कसुरमा संलग्न ६ जना पक्राउ

barunnews.com


सङ्खुवासभा १७ कात्तिक 

सङ्खुवासभाको चैनपुर नगरपालिका –६ चैनपुर बजारबाट आपराधिक लाभ कसुरमा ६ जना पक्राउ परेका छन् । चैनपुर आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय चैनपुरले प्युठानको नौबहिनी गाउँपालिका –६ घर भई हाल चैनपुर बसोबास गर्ने ३० वर्षीय केवि पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लव आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । सुनसरी जिल्लाको गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीबाट धम्की दिँदै ८१ हजार १ सय ४५ रुपैयाँ जबरजस्ती असुल गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितले दिएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न ६ जना अभयुक्तलाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ । कात्तिक १२ गते राति करिब १० बजे चौधरीलाई पक्राउ परेका व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोसेका थिए । त्यसपछि चौधरीलाई जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै मारिदिने धम्की दिँदै जबरजस्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ । भिडियो मिडियामा हालिदिने धम्की दिँदै चौधरीबाट जबरजस्ती असुल गरेका थिए ।  प्रहरीले उनीहरुको साथमा नगद ३८ हजार ४ सय ७० रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेकामाथि आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया