सङ्खुवासभाका १३ कात्तिक
सङ्खुवासभाको वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिला प्रशासन कार्यालय सङ्खुवासभाले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदमार्गमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको हो । प्रतिकूल मौसमका कारण मंगलबार देखि मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
उच्च हिमाली भेगमा बर्षा र हिमपात भइरहेका कारण कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । उत्तरी क्षेत्रको ४ हजार भन्दा माथि हिमपात भइरहेको कारण चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्री समेत अभाव हुनसक्ने भएका कारण मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदमार्गमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रजिअ थपलियाले बताउनुभयो । मकालु आधार शिविरमा नेपाली सहित दुई सय बढी पर्वतारोही मकालु आधार शिविरमा रहेको प्रशासनले जनाएको छ । विदेशी नागरिक करिव ७० जना र नेपाली पर्वतारोही पनि ६०÷७० जनाको सङ्ख्या अहिलेमकालु आधार शिविरमा रहेका छन् । आधार शिविर सहित उच्च हिमाली भेगमा कात्तिक १५ गते पछि मात्र यात्रा गर्न आग्रह गरेको हो । जिल्लाको मकालु,सभापोखरी सहित उच्च हिमाली भेगमा बर्षासहित हिमपात भएको छ । त्यस्तैगरी निरन्तर बर्षाको कारण पहिरो गई सडकहरु अवरोध वा बन्द हुनसक्ने भएका हुदाँ अत्यावश्यक काम बाहेक यात्रा नगर्न समेत प्रशासनले अनुरोध गरेको छ । पहिरोका जोखिम देखिएका घर तथा बस्तीहरु बसोबास गर्ने परिवारलाई सचेत एंव स्थानान्तरण गर्न सहजीकरणका लागि १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधीलाई अनुरोध गरेको छ । बाढी पहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।