सङ्खुवासभा २२ माघ
सङ्खुवासभाको मकालु गाउँपालिका –५ मुढेमा ट्याक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ । गएराति ९ बजे मकालु –५ मुढेमा ना ५ त ७०८१ नम्बरको ट्याक्टरले किचेर उत्तर दक्षिण कोशी राजमार्ग कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । तामाङको गुडिरहेको ट्याक्टर बाट खसेर पछाडीको टायरले किचेर घटना स्थलमै मृत्यु भएको हो ।
मृतक तामाङ उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत निर्माणाधीन खाँदबारी – किमाथाङ्का सडक खण्डमा बसन्तपुर निर्माण सेवामा कार्यरत मजदुर हुन् । । घटना लगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त ट्याक्टर मकालु –५ स्थित नुम बजारमा पार्किङ गरि राखेको अवस्थामा नियन्त्रणमा लिएर नुम प्रहरी चौकीमा राखेको छ । घटना स्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दुरीमा पर्दछ । मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउन तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।