सङ्खुवासभा २६ माघ
सङ्खुवासभामा एक हजार ५ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लाका १० वटै स्थानीय तहका एक हजार ५ एक किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको हो । मंगलबार देखि कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
यही माघ २७ देखि २९ गतेसम्म तीन दिन जिल्लाभर एचपिभी खोप अभियान कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रोषण श्रेष्ठले बताउनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा स्थलगत रूपमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाइने अभियानको तयारी भएको छ । जिल्लाको विकट हिमाली उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा हिमपात भइरहेको कारण पछि बैठकबाट मिति तय गरेर कार्यक्रम गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको खाँदबारी नगरपालिकामा ४७१, मादी नगरपालिकामा १३६, भोटखोला गाउँपालिकामा ६५, चैनपुर नगरपालिकामा २६०, चिचिला गाउँपालिकामा २४, धर्मदेवी नगरपालिकामा १११, मकालु गाउँपालिकामा १०३, पाँचखपन नगरपालिकामा १३१, सभापोखरी गाउँपालिकामा ९४ र सिलिचोङ गाउँपालिकामा ७६ जना कक्षा ६ मा अध्ययनरत किशोरीहरू रहेको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । गत वर्ष सङ्खुवासभाका कक्षा ६ देखि कक्षा १० सम्म र १० वर्ष उमेरदेखि १४ वर्षसम्मका सात हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइएको थियो ।
यो वर्ष जिल्लाभरका १३९ सामुदायिक विद्यालय र २० निजी विद्यालय गरी १५९ वटा विद्यालयका किशोरीलाई एचपिभी खोप लगाइनेछ । खोप अभियानमा १ सय ५९ स्वास्थ्यकर्मी, १ सय ५९ स्वयंसेवक र ७६ सुपरिवेक्षक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।