संखुवासभा, चैत १३ संखुवासभाको सभापोखरी गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा “शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा लागुऔषध सम्बन्धी” नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सभापोखरीमा नागरिक सुनुवाई तथा लागू औषध दुर्व्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लामा बढ्दो अपराध, लागुऔषध दुरुपयोग, तथा शान्ति सुरक्षासँग सम्बन्धित विविध विषयमा आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए।जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले नागरिकहरूका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिँदै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले लागुऔषध नियन्त्रण, अपराध न्यूनीकरण तथा समुदाय–प्रहरी सहकार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । कार्यक्रमले प्रहरी र नागरिकबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा सभापोखरी गाउँपालिकाका अध्यक्ष भिम लिम्बु, उपाध्यक्ष लक्ष्मी चापागाईँ प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया तथा तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले नागरिक र सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै शान्ति सुरक्षा कायम राख्न र लागुऔषध दुर्व्यसन नियन्त्रणमा टेवा पुग्ने विश्वास लिइएको छ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि