सङ्खुवासभामा प्रतिनिधिसभा निर्वाचन ः एमालेका उम्मेदवार कार्की १ हजार मत सहित अग्रता कायमै

barunnews.com


सङ्खुवासभा २५ फागुन 

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता जारी छ  । नेकपा एमालेका उम्मेदवार  अर्जुनकुमार कार्कीले  आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ११ हजार ७ सय ६९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १० हजार ७ सय ६६ मतले पछ्याय रहेका छन् । एमालेका कार्की र (रास्वपा) का शेर्पाबीचको १ हजार ३ मतान्तर  रहेको छ । 


त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले ८ हजार ९ सय ९८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ७ हजार २ सय २० मतका साथ चौथो स्थानमा छन् । भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ५ सय ६५ मत प्राप्त गरेकी छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा हालसम्म ४५ हजार ५ सय १३ मत गणना भइसकेको छ । भने २ हजार ५ सय २ मत बदर भएको छ । मत गणनाको अन्तिम परिणाम भरे साँझ सम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो देखि जारी छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।  मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको  छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । 

प्रतिक्रिया