असोज ७
सिरहा । सिरहाको गोलबजार नगरपालिका १३, दुर्गापुर डङ्ग्राहमा १४ वर्षीय बालक अभिषेककुमार सिंहको अपहरणपछि हत्या भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले आफन्त र छिमेकीसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, बालकको शव आज बिहान घरभन्दा करिब १०० मिटर पूर्व अर्जुन आधारभूत विद्यालय नजिकैको आँपको बगैँचामा फेला परेको हो। घटनाको प्रकृति हेर्दा नजिकैका व्यक्ति संलग्न रहेको स्थानीयको आशङ्का छ। शव नजिकै करिब १० मिटर दक्षिणमा एउटा सानो खाल्डो पनि फेला परेको छ। प्रहरीले उक्त खाल्डो शव गाड्नका लागि खनिएको तर पानी परेकाले खाल्डो खन्न नसकेपछि शव त्यहीँ छोडेको हुन सक्ने अनुमान गरेको छ।
अभिषेक असोज ५ गते राति खाना खाएर घरबाट निस्केका थिए। सुरुमा साथीहरूसँग झिँजिया हेर्न गएको ठानेर परिवारले तत्काल खोजतलास गरेनन्। तर, भोलिपल्ट बिहानसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोज्न थालेका थिए। त्यसै क्रममा मोबाइलमा ५ करोड फिरौती माग्दै हिन्दी भाषामा एउटा म्यासेज आएको वडा अध्यक्ष नन्दकुमार महतोले बताए। म्यासेजमा २५ सेप्टेम्बरभित्र रकम बुझाउन र प्रहरी तथा पत्रकारलाई खबर गरे जे पनि हुन सक्ने चेतावनी दिइएको थियो। परिवारले घटनाको जानकारी पाउनसाथ प्रहरीलाई खबर गरे पनि प्रहरीले खोजतलासलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो छ। प्रहरीले भने अहिले अनुसन्धान जारी रहेको र थप विवरण सार्वजनिक गर्न नमिल्ने बताएको छ। घटनाको अनुसन्धानका लागि जनकपुरबाट तालिमप्राप्त कुकुरसमेत झिकाइएको छ।
अभिषेकको शव पोस्टमार्टमका लागि बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख आनन्दराम शर्माले जानकारी दिए।
अभिषेकका बुबाको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो। नाति अभिषेकको मुख हेरेर बाँचिरहेका हजुरबुवा लक्ष्मण महतो अहिले गहिरो शोकमा छन्। अभिषेकको हत्याले उनको परिवार मात्र नभई गाउँ नै शोकमा डुबेको छ। परिवारमा हजुरबुवा, हजुरआमा, आमा र बहिनी छन्। पारिवारिक स्रोतका अनुसार, लामो समयदेखि उनीहरूको जग्गासम्बन्धी विवाद चलिरहेको थियो।