सङ्खुवासभा २३ माघ
सङ्खुवासभामा सामाजिक सञ्जाल मार्फत मत सर्वेक्षण गर्न राेक लगाइएको छ । जिल्लामा आगामी फागुन २१ काे प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै विभिन्न समुह मार्फत सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरिरहेकाे देखिएपछि राेक लगाइएको सङ्खुवासभाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारीले बताए ।
माघ ४ गतेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको भए पनि जिल्लामा केही सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण भइरहेको जनाइएको छ। निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउने साझा दायित्व भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि राजनीतिक दल र उम्मेदवारसम्म सबैले पक्षले जिम्मेवार व्यवहार देखाउनुपर्ने भन्दै शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न राेक लगाएको हाे । निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–२, दफा ४ को (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मतसर्वेक्षण गर्न, त्यसको नतिजा सार्वजनिक गर्न वा प्रकाशन गर्न पूर्ण रूपमा निषेध गरिएको आचारसंहिता अनुगमन अधिकृत अधिकारीले बताए । उक्त प्रावधानको उल्लङ्घन भए कानुनी कारबाही हुन सक्ने भन्दै सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका छन् ।