भविन कार्की, संखुवासभा २५ भदौ
संखुवासभामा पनि जिल्ला प्रशासन कार्यालयलले निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले भदौ २५ गते साँझ भदौ २६ गते बिहीबार ६ बजेसम्म अर्को आदेश नभएसम्मका लागि (कफ्र्यु) निषेधाज्ञा लागू गरेको हो । जेनजीको आन्दोलनका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा प्रर्दशनकारी तथा सुरक्षाकर्मी घाइते तथा मृत्यु भएको । जसमा कारण जिल्ला भित्र पनि आन्दोलन हुलदुङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएका कारण बुधबार (आज) साँझ ५ बजे देखि भोली बिहीबार ६ बजेसम्म निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । जारी आदेशमा निषेधाज्ञा (कफ्र्यु) जारी भएको समयमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । निषेधाज्ञा जारी भएको अवधीमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । विभिन्न ठाउँमा विकसित भइरहेको जेनजीको प्रदर्शन क्रमशः सामान्यीकरण हुँदै गएको भए पनि व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति पु¥याउने अराजक गतिविधि हुन सक्ने भएका कारण यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले यो आदेशको पालना नगर्ने वा अवरोध पु¥याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
सुरक्षाको सम्पूर्ण कमाण्ड गएराति १० बजेदेखि नेपाली सेनाले लिएको छ । सुरक्षाको कमाण्ड पाएसँगै अहिले नेपाली सेना सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत सुरु गरिएको छ । सम्भावित घटना हुन नदिन सुरक्षा सर्तकता अपनाउँदै जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा प्रहरी सँगै नेपाली सेना खटिएको छ । जिल्ला कारागार संखुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ४१ कैदी बन्दी राखिएको छ ।