भदौ २५
नेपाली सेनाले जेन–जीको आन्दोलनपछि कारागारहरूबाट भागेका कैदीहरूलाई समातेको छ । सेनाले डिल्लीबजारस्थित कारागारबाट भाग्न तयारी गरेकाहरूलाई नियन्त्रणमा लिएर अर्को कारागारमा सार्न लागेको छ । डिल्लीबजार कारागारका कैदीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएकाले आफूहरू पनि रिहा हुनुपर्ने मागसहित आज बिहानदेखि कारागार तोडफोड र आगजनीको प्रयास गरेका थिए । त्यस्तै, सेनाले डडेलधुरा जिल्ला कारागारबाट निस्केर भागेका २६ कैदीलाई नियन्त्रणमा लिइएको छ ।मंगलबार जेन–जीको आन्दोलन चर्किएपछि सुरुमा रास्वपा सभापति लामिछानेलाई उनका कार्यकर्ताहरूले नख्खु कारागारबाट निकालेका थिए । लामिछाने निस्किएपछि नख्खु कारागारसँगै देशका विभिन्न कारागारका कैदीहरू भागेका थिए । कैदीहरूले कारागार तोडफोड र आगजनी गरेर भागेका थिए । सो क्रममा झडप हुँदा केही कारागारमा भने मानवीय क्षतिसमेत भएको छ । त्यस्तै, सेनाले धमाधम कैदी पक्राउ गर्न थालेपछि रास्वपा सभापति लामिछाने सशंकित बनेका छन् । हिजो कारागारबाट निस्किएर कार्यकर्तालाई सम्बोधन गरेका रवि लामिछाने अहिले सुरक्षित स्थानमा बसेको रास्वपा नेताहरूले जनाएका छन् । उनी पक्षका कार्यकर्ताहरूले राष्ट्रपति र जेन–जीहरूबीच हुने वार्ताम रविलाई पनि सहभागी गराउनुपर्ने माग राखेका थिए । तर, अहिले उनीहरू मागबाट पछि हटेको बुझिएको छ । लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका थिए ।