भदौ २०
सङ्खुवासभामा जिल्लामा मानिस बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो समय बेपत्ता हुन क्रम बढ्दै गएको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्र्पकविहीन हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको महिला तथा बालबालिका शाखाका अनुसार मानिस हराएको भन्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको तथ्यांक अनुसार गएको सात बर्षमा ९ सय बढी बेपत्ता भएका छन् । जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् ।
जिल्लामा सात बर्षको अवधीमा ९ सय ६७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिने गरेको उहाँको भनाइ छ । जिल्लामा २०७५ साल यता ९ सय ६७ जना बेपत्ता भएका छन् । भने हालसम्म ९ सय १९ जना फेला परेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । हराएका मध्ये ४८ जना अझै फेला परेका छैनन् । यस अवधीमा महिला ५ सय ५३ जना,पुरुष १ सय ६४ जना,बालिका १ सय ५१ जना, बालक ७२ जना र २६ जेष्ठ नागरिक बेपत्ता भएको तथ्याङ्क रहेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ६ जना हराएकोमा एक सय १ जना फेला परेका छन् । त्यस्तैगरी आर्थिक बर्ष २०८१÷०८२ मा एक सय ७ जना हराएकोमा ९२ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । जिल्लामा २५ बर्ष देखि ४५ बर्ष उमेरका महिला र १८ देखि २५ बर्षसम्मका बालबालिका बढी बेपत्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।