बर्ड फ्लू प्रतिबन्धित क्षेत्रबाट सङ्खुवासभा ल्याइएका ४ हजारभन्दा बढी बोइलर चल्ला नष्ट

barunnews.com

 ३० चैत ; सङ्खुवासभामा प्रतिबन्धित क्षेत्रबाट ल्याइएका ४ हजारभन्दा बढी बोइलर कुखुराका चल्ला नष्ट गरिएको छ । बर्ड फ्लू सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका ४ हजारभन्दा बढी बोइलर कुखुराका चल्ला नष्ट गरिएको हो । प्रतिबन्धित क्षेत्रबाट भित्र्याइएको पुष्टि भएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ ।  भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार ४ हजार १ सय चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो । बर्ड फ्लू रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकरी घाङरी लामाको  संयोजकत्वमा बसेको बैठकले बर्ड फ्लू सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका ४ हजारभन्दा बढी बोइलर कुखुराका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो । अनुमति बिना प्रतिबन्धित क्षेत्र मोरङबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख  पोख्रेलले बताउनुभयो । प्रतिबन्धित क्षेत्र मोरङबाट ल्याइएका तीन वटा गाडीका ४ हजार १ सय बोइलर कुखराका चल्ला सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । मोरङको बुढीगंगा स्थित भिजु पोल्ट्री फर्म प्रालिबाट ल्याइएका ३ लाख रुपैयाँ बढीको बोइलर कुखुराका चल्ला नष्ट गरिएको उहाँको भनाइ छ । रोग संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको उनले जानकारी दिनुभयो । सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न चेतावनी दिँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने जनाएको छ । साथै, पशुजन्य रोगको नियन्त्रण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि सबै सरोकारवालालाई सतर्क रहन आग्रह गरिएको छ । प्रतिबन्धित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तु ओसारपसार गर्दा संक्रामक रोग फैलिने जोखिम उच्च हुने भएकाले कडाइ गरिएको सम्बन्धित निकायले जनाएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले  किसान तथा व्यवसायीहरूलाई प्रचलित नियमको पालना गर्न आग्रह गर्दै प्रतिबन्धित क्षेत्रबाट कुखुरा ओसारपसार नगर्न सचेत गराएको छ । साथै यस्ता गतिविधि नियन्त्रणका लागि अनुगमनलाई थप प्रभावकारी बनाइने जनाइएको छ । 


प्रतिक्रिया