संखुवासभा मंसिर १
कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउन अहिले विभिन्न जिल्लामा अभियान सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा हालसम्म १ लाख ७१ हजार ७ सय ४० पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ ।
संखुवासभामा पशु चौपायालाई खोरेत विरुद्धको खोप अभियान जारी छ । जिल्लाका १० वटै स्थानीय तहमा पशु चौपायालाई खोरेत विरुद्धको खोप अभियान चलिरहेको छ । दुधजन्य वस्तुको निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले गाई, भैंसीलाई खोप दिन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहहरुको समन्वयमा चौपायालाई खोरेत विरुद्वको खोप लगाइएको हो । संखुवासभा जिल्लामा दुई हजार बढी गाई भैसीलाई खोरेत रोगविरुद्वको खोप लगाइएको छ ।
जिल्लामा कात्तिक २३ गतेदेखि सुरु भएको खोप अभियानमा दुई हजार एक सय २२ गाई भैसीलाई खोरेत रोगविरुद्वको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोख्रेलले बताउनुभयो । खोरेत विरुद्धको खोप अभियानमा पहिलो चरणमा खाँदबारी नगरपालिका,धर्मदेवी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । जसमा सबै भन्दा सभापोखरी गाउँपालिकामा ७ सय १६ पशु चौपायालाई खोप लगाइएको छ । त्यस्तैगरी पाँचखपन नगरपालिकामा ५ सय ३१,धर्मदेवीमा ३ सय ४२ र खाँदबारीमा १ सय ९३, चैनपुरमा १८, मकालु गाउँपालिकामा ५६ वटा पशु चौपायालाई खोप लगाइएको प्रमुख पोख्रेलले बताउनुभयो । खोरेत विरुद्धको खोप अभियानका लागि जिल्लामा ७६ खोप कार्यकता परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञले जनाएको छ । जस अन्तगत संखुवासभामा मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभियानमा ४० हजार पशु चौपायालाई खोप लगाउने लक्ष्य छ । खोप लगाएका चौपायामा सामान्यतया ज्वरो आउने र झोक्राउने समस्या देखिए पनि जटिल असर नदेखिएको किसानहरुले जनाएका छन् ।