सङ्खुवासभाको तुम्लिङटारमा ट्याक्टर दुर्घटना हुदाँ एक बालकको मृत्यु, दुई गम्भीर घाइते

barunnews.com

२८ चैत ; कोशी राजमार्ग  अन्तरर्गत सङ्खुवासभाको खाँदबारी —तुम्लिुङटार सडक खण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । खाँदबारी —तुम्लिुङटार सडक खण्डमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जना मध्ये खाँदबारी–९ तुम्लिङटार निवासी ११ वर्षीय मनिष कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो ।  तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २त ५३५४ नम्बरको ट्याक्टर शनिबार दिउँसो सवा ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै नेपाली सेनाको इन्द्र गुल्मको टोली घटनास्थल पुगेर घाइतेको उद्दार गरेर उपचारका लागि तुम्लिङटार स्थित मनकामना सामुदायिक अस्पताल पठाएका थिए । दुर्घटनामा परेर खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । गम्भीर घाइते १० वर्षीय अमृत  र २० वर्षीय इकु कुमाललाई मनकामना सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । दुर्घटनापछि ट्याक्टर चालक खाँदबारी–९ सागुरी निवासी २० वर्षीय सुसान लिम्बु फरार भएको प्रहरीले जनाएको छ । घटना लगत्तै फरार रहेका चालक लिम्बुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना लगत्तै प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा टोली खटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया