सङ्खुवासभा २९ चैत ; नेपाल निर्माण व्यवसायी संघ सङ्खुवासभाले इन्धनजन्य तथा निर्माण सामग्रीहरूको लगातार बढ्दो मूल्यका कारण देशभरको निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी संघ सङ्खुवासभाले इन्धनजन्य तथा निर्माण सामग्रीहरुमा अत्याधिक मूल्य वृद्धिले गर्दा निर्माण उद्योग धरासायी भन्दै गएको भन्दै मूल्यवृद्धि रा्ेक्न माग गरेको छ । निर्माण व्यवसायी संघले अत्याधिक मूल्य वृद्धिले गर्दा निर्माण ब्यवसायीहरु लाई ठूलो आर्थिक भार पर्न गएकाले निर्माण उद्योगमा आपतकाल घोषणा गरी राहत दिन सरकार सँग माग गरेको छ । डिजेल, पेट्रोल, बिटुमिन, रड तथा सिमेन्ट जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धि र अभावले उद्योग नै धरासायी हुने अवस्थामा पुगेको नेपाल निर्माण व्यवसायी संघ सङ्खुवासभाका महासचिव सुनिल श्रेष्ठले बताउनुभयो । अत्याधिक मूल्य वृद्धिले गर्दा जिल्लाका विकास निर्माण जस्ता उद्योग क्षेत्रमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल हुन नसकेको निर्माण ब्यवसायीको गुनासो छ । अहिले निर्माण कार्य तीव्र रूपमा सञ्चालन हुने समय भए पनि सामग्रीको अभाव र मूल्यवृद्धिका कारण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको नेपाल निर्माण व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य तथा निर्माण ब्यवसायी मिगुर शेर्पाले बताउनुभयो । उहाँले यस्तो संकटपूर्ण अवस्थामा संघले निर्माण क्षेत्रलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी व्यवसायीहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । त्यस्तैगरी हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन गर्न कठिन भएकाले तत्काल “मूल्य समायोजन मार्गदर्शिका–२” जारी गर्न र सबै अवधिका निर्माण आयोजनाहरूमा मूल्य समायोजनको व्यवस्था गर्न नेपाल निर्माण व्यवसायी संघले आग्रह गरेको छ ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि