जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभाको पहिलो बैठक सम्पन्न

barunnews.com

संखुवासभा चैत ३० ः जिल्ला समन्वय समिति संखुवासभाको सातौँ जिल्ला सभाको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार सदरमुकाम खाँदबारीमा  जिल्ला समन्वय समिति संखुवासभाको सातौँ जिल्ला सभाको पहिलो बैठक सम्पन्न भएको छ । सातौँ जिल्ला सभाको पहिलो बैठकको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य कार्कीले  विकास, समृद्धि र सुशासनमा जोड दिनुभयो ।  उहाँले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र दलका नेतृत्वसमेतको पहल आवश्यक हुने बताउनुभयो ।  कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जिल्लाको विकासमा सबै तहको जनप्रतिनिधिबिच साझा पहल र समन्वय आवश्यक हुने बताउनुभयो ।  मन्त्री लिङ्थेपले जिल्लाको विकास निर्माणका लागि प्रदेश सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको जिल्ला सभासमक्ष प्रतिवद्धता समेत जनाउनुभयो । बैठकमा स्थानीय तहले आ–आफ्नो क्षेत्रका समस्या, चुनौती तथा प्राथमिकताहरू प्रस्तुत गरेका थिए । जिल्ला सभाको बैठकमा जिल्लाका १० वटै स्थानीय तहले संघ तथा प्रदेश अन्तर्गतका कार्यालय र आयोजनाहरूको गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षसम्मको प्रगति विवरण प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी शुक्रादेवी राईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्लाभित्र रहेका स्थानीय तहबीच समन्वय सुदृढ गर्ने, विकास आयोजनाहरूको प्रगति समीक्षा गर्ने तथा आगामी योजनाहरू तय गर्ने विषयमा छलफल गरिएको थियो । बैठकमा विकास निर्माण, सेवा प्रवाह तथा समन्वयका विभिन्न पक्षहरूबारे छलफल गरिएको थियो । प्रस्तुतिहरूमार्फत स्थानीय तहहरूले आफ्नो कार्यप्रगति, चुनौती र आगामी योजना बारे जानकारी गराएका थिए । स्थानीय तहहरुले बेरुजुको आकार घटाउन जनप्रतिनिधि र कर्मचारीको पहल प्रयासमा आवयश्क भएको बताएका छन् ।  त्यसैगरी, संखुवासभाका १० वटै स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, संघ तथा प्रदेश सरकारअन्तर्गतका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको सहभागिता रहेको थियो ।  


प्रतिक्रिया