सङ्खुवासभामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र

barunnews.com

सङ्खुवासभा २८ माघ 

सङ्खुवासभामा आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र बनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिले तथा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र बनाएको हो । मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतिदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिन अनुगमन तीव्र बनाइएको हो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिादै जाँदा गाउँमा चुनावी चहलपहल बढिरहेको छ । कामको शिलसिलामा घर छाडेकाहरु र्फकन थालेका छन् । उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेका छन् । यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ । 

जिल्लाका १० स्थानीय तह मध्ये ८ स्थानीय तह अन्तरर्गत मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । मादी र धर्मदवी नगरपालिका बाहेक अन्य ८० प्रतिशत बढी मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको प्रजिअ थपलियाले बताउनुभयो । भौगोलिक विकटता,यातायातको असुविधा, सञ्चार,खानेपानी,बिजुली सहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि समन्वय समेत गरीएको छ । 

जिल्लामा एक सय  ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन्  । जिल्लामा अति संवेदनशीलता ८ वटा, संवेदनशील ८२ र सामान्य १९ वटा रहेका छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । 

एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको एकीकृत योजना बनिसकेको छ । मतदानस्थल अनुगमनमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश  राजकुमार कोइराला,प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारी,प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली,सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इन्द्र दल गुल्मका क्याप्टेन बाबुकाजी बस्नेत,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख रामअचल शाह लगायतले  अनुगमन गरेका हुन्  । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिला सहित  एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा तीन महिला सहित १६ जना चुनावी मैदानमा छन् । जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् । 

प्रतिक्रिया