वडा स्तरिय महिला भलिबलको उपाधि साल्पा सिलिछो गाउँपालिकालाई

barunnews.com

संखुवासभा कात्तिक ९ 

भोजपुरको षडानन्द नगरपालिका –११ गैरी गाउँमा भएको खुल्ला वडा स्तरीय  महिला भलिबल प्रतियोगिताको उपाधि साल्पा सिलिछो गाउँपालिकाले जितेको छ । फालिपञ्चे पूर्व विद्यार्थी मञ्च षडानन्द–११ ले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ दिपावली तथा छैट पर्वको अवसरमा खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।   फालिपञ्चे पूर्व विद्यार्थी मञ्चद्धारा आयोजित फालिपञ्चे आधारभूत विद्यालयको खेल मैदानमा आज भएको फाइनलमा साल्पा सिलिछो गाउँपालिका चौकीडाँडा –३ ले आयोजक षडानन्द –११ लाई पराजित गर्दै  उपाधि उचालेको हो । 

साल्पा सिलिछोले षडानन्दलाई  सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको छ । साल्पा सिलिछोसँग प्रतिस्पर्धा गरेको आयोजक षडानन्द –११ ले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तैगरी संखुवासभाको सभापोखरी गाउँपालिका –३ बाह्रविसे तेस्रो भएको छ । सभापोखरी गाउँपालिकाले सोझो सेटमा भोजपुर नगरपालिका –२ हेलौछााई पराजित गर्दै तेस्रो स्थना हासिल गरेको छ । भोजपुर नगरपालिका –२ हेलौछाले स्वान्तवना भएको छ । 

खुल्ला वडा स्तरीय  महिला भलिबल प्रतियोगितामा प्रथम साल्पा सिलिछो गाउँपालिकाले नगद ३५ हजार रुपैयाँ,ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिता संयोजक बद्रि कार्कीले बताए ।  प्रतियोगितामा दोस्रो आयोजक षडानन्द नगरपालिकाले नगद २५ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र,तेस्रो हुने सभापोखरी गाउँपालिकाले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तैगरी स्वान्तवना हुने भोजपुर नगरपालिकाले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।  प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको छ ।  कात्तिक ७ गते सुरु भएको खुल्ला वडा स्तरीय  महिला भलिबल प्रतियोगितामा भोजपुर र संखुवासभा जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।  वडा स्तरीय महिला भलिबल प्रतियोगिताको समापन कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई,षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदास लगायतको उपस्थिती रहेको थियो । फालिपञ्चे पूर्व विद्यार्थी मञ्चले विभिन्न संस्करणमा यस्ता प्रतियोगिता गर्दै आएको छ । 


प्रतिक्रिया