केन्द्रिय कारागार नख्खुबाट भागेका एक जना कैदी पक्राउ

barunnews.com

सङ्खुवासभा १४ पुष 

जेनजी प्रदर्शनका क्रममा केन्द्रिय कारागार नख्खु कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् ।  केन्द्रिय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका –५ का २९ बर्षीय अमित भनिने टिकाराम विश्वकर्मालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी दिए । फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । चिचिला –५ का २९ वर्षीय अमित जबरजस्ती करणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय नख्खुमा कैद भुक्तान गरिरहेका थिए ।   भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए ।  जेनजी प्रदर्शनका क्रममा भागेका  हालसम्म ७  जना कैदीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ  परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया