संखुवासभा माघ १७
संखुवासभाको सदरमुकाम खाँदबारीमा पुरुष डबल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । संखुवासभा उद्योग वाणिज्य संघको १८औँ साधारणसभाको अवसर पारेर शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । खाँदबारी –१ स्थित सोमनाथ घिमिरे स्मृति कवर्ड हलमा संखुवासभा उद्योग वाणिज्य संघको १८ औँ साधारणसभाको अवसरमा पुरुष डबल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता आायोजना गरिएको छ । ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरे । आपसी सद्भाव, खेल भावना र स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष डबल तर्फ १२ टिम र ४५ वर्षमाथिको भेट्रान्समा ६ टिमको सहभागिता जनाएको उपाध्यक्ष जनक पौडेलीले बताए ।
प्रतियोगिताको विजयी टिमले पुरुष डबल तर्फ २० हजार रुपैयाँ, दोस्रो हुने टिमलाई १० हजार रुपैयाँ र तेस्रो हुने टिमलाई पाँच –पाँच हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तैगरी भेट्रान्सतर्फ प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई १० हजार रुपैयाँ र तेस्रो हुने टिमलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिने उपाध्यक्ष राजु श्रेष्ठले बताए । प्रतियोगिताको फाइनल खेल मंगलबार खाँदबारी –१ स्थित सोमनाथ घिमिरे स्मृति कवर्ड हलमा सम्पन्न हुने आयोजक संखुवासभा उद्योग वाणिज्य संघले जनाएको छ ।