संखुवासभामा अस्पतलमा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निशुल्क सेवा लिए

barunnews.com

संखुवासभा भदौ २०

जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाई मार्फत जिल्लाका विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् । सामाजिक सेवा इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान छ । स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले ठूलो राहत मिलेको छ । सामाजिक सेवा इकाई मार्फत आर्थिक बर्ष २०८१÷०८२ मा २ हजार २ सय ७० जनाले सेवा लिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी सुमित्रा सापकोटाले जानकारी दिइन् । 

जिल्ला अस्पतालमा तीन बर्षको अवधीमा लैङ्गिक हिंसा पीडित ८८ जनाले निशुल्क सेवा लिएका छन् । त्यस्तैगरी जिल्ला अस्पतालमा ३० हजार दुई सय ५ जनाले स्वास्थ्य विमा बाट सेवा लिएका छन् । जिल्ला अस्पतालमा लक्षित समूहको स्वास्थ्यमा सूधार गराई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन लक्ष्य सहित २०७८ मा सामाजिक सेवा इकाइ स्थापना गरिएको हो । अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ ।  जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तह र छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् । नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र आकस्मिक स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अन्तरगत राखिएको छ ।

 

प्रतिक्रिया