सङ्खुवासभा १३ मङ्सिर
नेकपा एमाले सङ्खुवासभामा प्रतिनिधि छनौट लागि निर्वाचन भएको छ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सङ्खुवासभामा प्रतिनिधि छनोटका लागि जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन भएको हो । नेकपा एमाले सङ्खुवासभामा महाधिवेशन प्रतिनिधिको लागि ६ जनाको कोटामा १८ जनाको उम्मेदारी परेको छ ।
महाधिवेशन प्रतिनिधि भएर जान ६ जनाको कोटामा १८ जनाको उम्मेदवारी परेको नेकपा एमाले सङ्खुवासभाका उपाध्यक्ष तथा जिल्ला निर्वाचन संयोजक शान्तिकुमार दाहालले बताउनुभयो । महाधिवेशन प्रतिनिधिका आकांक्षि धेरै भएर सहमति जुट्न नसकेपछि आज मतदान गरिएको छ । सङ्खुवासभामा एमालेका तीन हजार ८२ जना पार्टी सदस्य रहेका छन् । आज भएको निर्वाचनमा १ हजार ९ सय १२ जनाले मतखान गरेको निर्वाचन संयोजक दाहालले बताउनुभयो । जसमा सबै भन्दा धेरै खाँदबारी नगरपालिकामा तीन सय ९४ र सबै भन्दा कम चिचिला गाउँपालिकामा ५० मत मात्र खसेको एमालले जनाएको छ ।
जिल्लाको ७ जनाको कोटामा दलित कोटामा इन्द्रमाया बराइली मात्रै सर्वसम्मत भएको छ । तीन वटा खुल्ला प्रतिनिधिका लागि १२ जना, दुई महिलाको कोटामा तीन जनाको उम्मेदवारी र युवा ४० बर्ष मुनिको एक जनाको कोटामा तीन जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन संयोजक दाहालले बताउनुभयो । खुला प्रतिनिधिमा तीनजना प्रतिनिधिका लागि १४ ले उम्मेदवारी दिए पनि दुई जनाको उम्मेदवारी फिर्ता लिएका थिए । सर्वसम्मत हुन नसकेपछि मतदात आज बिहान ८ः१५ देखि दिउँसो ३ बजेसम्म प्रत्येक पालिकामा निर्वाचन भएको हो । प्रतिनिधि छनोटका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्यबराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एकजना महिलासहित चारजना प्रतिनिधि निर्वाचित हुनेछन् । न्यूनतम १२ सय पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एकजना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप आठ–आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि चुनिनेछन् ।