सङ्खुवासभामा मतदान सम्पन्न ः ५३ प्रतिशत मत खस्यो

barunnews.com



भविन कार्की, सङ्खुवासभा २१ फागुन 

सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ५३ प्रतिशत १९ दशमलव मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । 

१ सय ९ मतदानस्थलका १ सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । जिल्लामा ३३ हजार एक सय ८० पुरुष र ३० हजार ४ सय महिला सहित ६३ हजार ६ सय ३४ जनाले मतदान गरेको उहाँको भनाइ छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ । 

जिल्लाका ५ मतदान केन्द्रका मतपेटीका हेलिकप्टरमा ल्याइने 

जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएका ५ वटा मतदान केन्द्रका मतपेटकी हेलिकप्टर मार्फत ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटीका सेनाको हेलिकप्टर मार्फत ल्याइने भएको छ । जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोला गाउँपालिका अन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र  वडा नम्बर ३ को शिव शक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रमा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।  यी तीन स्थानका मतपेटीका हेलिकप्टर मार्फत भोलि फागुन २२ गते मात्र ल्याइने उहाँको भनाइ छ । दुर्गम तथा सडक सञ्जाल नपुगेका केही स्थानमा मतपेटीका आउन समय लाग्ने भएका कारण मतगणना भने २२ गते राति देखि मात्र हुने बताइएको छ ।  

त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटिएका थिए । जिल्लामा एक अस्थायी सहित १ सय ६५ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन्   ।   


प्रतिक्रिया