सङ्खुवासभा ७ चैत सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ च्याम्ताङमा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।भोटखोला –२ च्याम्ताङ स्थित अरुणोदय कर्मा ज्यामु आधारभूत विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीलाई कपी, कलम, लगायतका स्टेसनरी सामग्री हस्तान्तरण गरिएको गुल्मले जनाएको छ । इन्द्रदल गुल्मका गुल्मपति सेनानी नवराज बस्नेतका अनुसार दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका विद्यार्थीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो । सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर दुर्गम उत्तरी क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँको भनाइ छ । निर्वाचन पश्चात् उत्तरी छिमेकी चीनसँग जोडिएका सीमा स्तम्भहरूको निरीक्षण गरी फर्कने क्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको किमाथाङ्का स्थित बीओपी टोलीसँग समन्वय गर्दै समय–समयमा सीमा स्तम्भहरूको निरीक्षण गर्दै आएको छ । जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन् ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि