सङ्खुवासभा ३ मङ्सिर
सङ्खुवासभाको चैनपुरमा रहेको सिद्धकाली र बानेश्वर मन्दिरमा शतबीज छर्नेको भीड लागेको छ । बालाचर्तुदशीको अवसरमा चैनपुर नगरपालिका –३ स्थित सतिदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली मन्दिर र चैनपुर –८ मा स्थित बानेश्वर डाडाँमा रहेको मन्दिर परिसरमा दीपप्रज्वलन,शतविज छर्नेको भत्तजनको भिड लागेको हो । मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा सिद्धकाली र बानेश्वर मन्दिरमा शतबीज छरेका हुन् ।
आफ्ना दिंवगत भएका पितृहरुको संम्झनामा मृतकका आफन्तजनबाट रातभर दिपप्रज्वलन गरी भोलिपल्ट सत्विज छर्ने गरिन्छ । बालाचर्तुदशी अघिल्लो राति सिद्धकाली र बानेश्वर मन्दिरमा ठूलो मेला समेत लाग्ने गरेको छ । जिल्लाका दुई वटै धार्मिक स्थलमा आज बिहान शतबीज छर्ने परम्परा छ । मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ । यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृको उद्दार पाउने विश्वास रही आएको छ । शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन् । सिद्धकाली तथा बानेश्वर मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । मानिस आफ्नो आफ्ना कुलपितृको सम्झनामा सतबिउ छर्नको लागिसमेत पुग्ने गरेका छन् । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । यहाँका रको दर्शन गरे मनले सोचेका इच्छा–आकांक्षा पूरा हुने विश्वास रहेको छ ।