सङ्खुवासभा असोज १७
सङ्खुवासभामा दशैं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् । जिल्लामा दशैं–तिहार चेलीलाई उपहार अभियान नाम दिइएको यो कार्यक्रम बुधबार असोज १५ गते देखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताए । निःशुल्क सेवा दशैंको पूर्णिमा सम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा ६ वटा मोटरसाइकल रहेका छन् । दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म २ दर्जन भन्दा बढी छोरीचेलीहरुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याइएको छ । शुक्रबार पनि बिहानैदेखि युवाहरूले छोरीचेलीहरुलाई माईत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताए । विशेषगरी गाउँघरमा सवारीसाधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उनको भनाइ छ । माइती–मावली सेवाको यो पहलले स्थानीयवासीको मन जितेको छ । अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवाहरुलाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताउनुभयो । यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ । समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।