सङ्खुवासभा २७ माघ
सङ्खुवासभामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अनुगमनकर्ता तालिम दिएको छ । सदरमुकाम खाँदबारीमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १० वटै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन अनुगमनकर्ता तालिम सुरु गरेको हो ।
जिल्लाका १० वटै स्थानीय तहका ७६ वडामा ७६ जना मतदाता शिक्षा स्वयमसेवक परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी सन्तोष राईले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यक्रम फागुन २ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन अधिकारी राईले बताउनुभयो । मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिएर वडास्तरसम्म परिचालन गर्ने तथा उनीहरूको अनुगमन गर्ने जिम्मेवारी अनुगमनकर्तालाई दिइएको हो । मतदाता शिक्षा कुनै पार्टी विशेषका लागि नभई लोकतन्त्र सुदृढ गर्नका लागि भएको उल्लेख गर्दै तल्लो तहसम्म प्रभावकारी रूपमा पुयाउनुपर्ने लक्ष्य लिएको निर्वाचन कार्यालय जनाएको छ । मत बदर हुन नदिन जनचेतना फैलाउन स्वयमसेवकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । मतदाता शिक्षा स्वयंसेवकलाई कुनै दलप्रति आवद्धता देखिएमा सम्बन्धित कर्मचारी कारबाहीको भागेदार हुने चेतावनीसमेत दिइएको छ । निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै निष्पक्ष रूपमा मतदाता शिक्षा दिन स्वयमसेवकलाई आग्रह गरिएको छ ।
निर्वाचन अनुगमनकता तथा मतदाता शिक्षा स्वयंसेवकले दलप्रति कुनै पनि पूर्वाग्रह नराखी स्वतन्त्र,निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिला सहित एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । जसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।