यथार्थसँग घोत्लिँदै...
हिमालय पोख्रेल
बिक्रम सम्बत २०४८ सालतिर, जब म करिब १८/१९ वर्षको थिएँ, नेपालको एउटा निकै बयस्क र स्थापित राजनीतिक दलको जिल्ला कार्य समिति सदस्य बन्न प्रस्ताव गरिएको थियो। त्यो प्रस्ताव स्वयम् दलकै एक जना ठूलै र सम्मानित नेताज्यूले गर्नुभएको थियो।
वहाँले मेरो पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सक्रियता, मेरो वाककला, संगठन क्षमता र नेतृत्वको सम्भावना देखेर उच्च मूल्यांकन गर्नुभएको थियो होला।
तर मसँग त्यो क्षणमा एउटा मात्र उत्तर थियो —
“म पेशाकर्मी बन्छु, किनकि म एक सामान्य निम्नमध्यम वर्गको किसानको छोरो हुँ।”
मैले आदरपूर्वक यो कुरा राखेँ र वहाँलाई धन्यवाद दिँदै बिदा भएँ।
आज पनि म वहाँको सद्भाव, विश्वास र अवसरका लागि जीवनभर आभारी छु।
तर त्यही क्षणमा मैले मनभित्र कसम खाएँ —
मेरो देशप्रेम मेरो काम र कर्ममा झल्किनेछ, न कि सत्ताको कुर्सीमा।सायद म आज जे छु यो भन्दा बेहत्तर गर्न पनि सक्ने थिएँ होला तर मेरो त्यसबेलाको निर्णयमा रत्तिभर पश्चाताप छैन।नेपालको पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दा, साविकका राजनीतिक दलहरूले विगतमा गरेका ठूला-ठूला राजनीतिक परिवर्तन र त्यसमा पुर्याएको योगदानलाई आधार बनाएर देखाउने गर्व सहि छन् र इतिहास प्रति गर्व गर्ने हक पनि दलहरूलाई छ तर अनावश्यक बडप्पन ? तत्कालीन समयका सरकारले गरेका कतिपय भौतिक विकासका कार्यहरू ,संचार,स्वास्थ्य ,शिक्षा मानव संसाधन बिकाश पनि प्रशंसनीय नै छन्। तर, यथार्थ के हो भने — ती दलहरूमा देखिएको नातावाद, कृपावाद, अवसरवाद, स्वार्थवाद र सत्तालालसाले हाम्रो देशलाई स्थायित्वको बाटोमा अघि बढ्न दिइरहेको छैन।विकास कार्यमा ढिलासुस्ती,गुणस्तरमा कमि, सुशासनको अभाव, बढ्दो अशिक्षा र बेरोजगारी, विशेषगरी शैक्षिक बेरोजगारी, "थोरै मान्छे संग धेरै श्रोत साधन धेरै मान्छे संग थोरै श्रोत साधन "अझ पछिल्लो समयमा लोकतान्त्रिक प्रणालीको दोश्रो पिलर प्रतिपक्ष लगभग रहित( दुई ठुला दलको गठबन्धन ) यदि बलियो एउटा शक्ति प्रतिपक्षमा भएको भए सत्ताबाट निराश भएका जनता प्रतिपक्षीको आशा गर्ने थिएकि? साथै संसारका अन्य देशहरूले छोटो समयमा गरेको तीव्र जादुमय प्रगतिलाई हेर्दा हामी पछाडि परेका अनुभव हुन्छ। यसले युवाहरूमाझ असन्तोष र निराशा बढ्दै गएको छ।
३ भाद्र २०८२ मा राजधानी लगायत देशभरका मुख्य सहरहरूमा देखा परेको नौजवान युवाको शान्तिपूर्ण विरोध प्रदर्शन यही असन्तोषको प्रतिफल थियो निउँ बन्यो सामाजिक संजाल बन्द । तर राज्यले त्यसलाई चनाखो भइ सुचना राख्ने ,ब्यवस्थापनको पुर्व तयारी गर्ने , सुन्ने संवाद गर्ने,सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्यो, नियन्त्रणका नाममा दमन गर्यो। परिणामस्वरूप एकै दिन — अझ भनौं, केही घण्टामै — २१ जना किशोर-किशोरीले ज्यान गुमाउनुपर्यो,दर्जनौं प्रहरी कर्मचारी घाइते ,बर्दि खोसिएको ,हतियार खोसिनु,अपमानित मात्र होइन अमानवीय तवरले मारिएको समेत देख्नु सुन्नु पर्यो।
यो पीडामा देश स्तब्ध बन्यो, दर्जनौं काख क्षणभरमा रित्तिनु अत्यन्तै अप्रत्याशित र दुखद घटना भयो । त्यसको भोलिपल्ट अर्थात् २४ भाद्रमा परिस्थिति आन्दोलन कर्ता र सरकारको हातबाट निस्कियो — स्वार्थी र गलत तत्वहरूको घुसपैठ भयो, र हामीले इतिहासमै कहिल्यै नदेखेको विनाश अनुभव गर्नुपर्यो।
सिंहदरबार, सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, करिब दुई सय सरकारी कार्यालय, सयौं प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान र निजी घरहरू खरानी बने,स्थापीत भि.आइ.पि.हरुमाथि सांघातिक हमला भयो । जनधनको क्षतिले सारा नेपालीको मन रुञ्चियो आत्तियो,डरायो , स्तब्ध बन्यो ।
आज त्यही अवस्थाबाट आक्रोशित भई कतिपय युवाहरूलाई राजनीतिक दलहरूले,ब्यक्तिहरुले,समुहहरुले फेरि राजनीतिमा तान्न खोजिरहेका छन् भने कतिपय जानेर वा नजानेर नौजवान स्वयं सक्रिय राजनीतिमा हामफाल्न कच्चा उमेरका नौजवान हौसिएका छन् । तर, सम्झनुहोस् —
यो उमेर पढ्ने, लेख्ने, सिक्ने, करियर बनाउने पो हो कि?
राजनीतिक लाभका लागि युवालाई प्रयोग गर्ने प्रवृत्ति र हौसिएर जानु नपर्ने बाटो दगुर्ने प्रबृत्ति अत्यन्त खतरनाक छ। केही समय अध्यक्ष ,मेयर , सांसद वा मन्त्री नै बनेर पनि जीवन सफल हुँदैन; दीर्घकालीन सफलताको बाटो तपाईंको प्रचुर अध्ययन, सीप, व्यवसाय, नवप्रवर्तन र आत्मनिर्भरतालाई मजबुत बनाउनु हो,तपाईं प्रविधिमा पहुँच भएका,जोस जाँगर ,बल,तागत र उमेर प्रशस्त भएका ,अनन्त सम्भावना भएका,देश/बिदेशमा रहेका जुरे जुरे विश्वविद्यालयहरु बाट विज्ञान ,प्रविधि ,इतिहास,अर्थशास्त्र र राजनीतिमा प्रचुर ज्ञान ,शीप,अनुभव हाँसिल गरि सकारात्मक मनोवृत्तिका साथ संसारमै विभिन्न क्षेत्रमा नेतृत्वदायी क्षमता राख्ने सम्भावनाका धनी तपाईंहरू घोत्लिनुस् है। तपाईंको देश प्रेम र देश बनाउने हुटहुटिलाई साधुवाद छ अझ सलाम छ अब देश बनाउने तपाईंहरुले नै हो तर पुर्णतः होस् पूर्वक।
प्रिय नानी–बाबुहरू, आत्तिनु पर्दैन।
हतोत्साहित नहुनुहोस्, भावनामा बग्नु हुँदैन।
जीवन धेरै सुन्दर छ — हौसिनुहोस्, तर सोचेर; अगाडि बढ्नुहोस्, तर विवेकपूर्वक।
सही बाटो रोज्न सके जीवन स्वर्णिम हुन्छ, गलत बाटो रोज्दा जटिल।
दुखद घटनामा जीवन गुमाउनु भएका प्रति हार्दिक श्रद्धाञ्जली ,घाइतेहरुको शिघ्र/ पुर्ण स्वास्थ्य लाभको कामना सहित हामी सम्पूर्ण नेपाली जनमा समवेदना ।।।
अन्त्यमा, यो लेख तपाईं नौजवानलाई हतोत्साहित गर्न होइन, चिन्तन र आत्ममूल्यांकन गर्न प्रेरित गरने ध्ययले लेखिएको हो।थोरै घोत्लिऔं, सोचौं —भरसक भविष्यमा पश्चाताप नहुने निर्णय गरौं ।जीवन साँच्चै लामो छ, मूल्यवान छ।आफ्नो ,आश्रितको,समाजको ,देशको भविष्य बचाऔं, बनाऔं र उज्यालो दिशामा अघि बढाऔं।
सबको जय होस् ,सबको मंगल होस् ।
लेखक ः हिमालय पोख्रेल
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभा