संखुवासभा, चैत ८ , जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी निरीक्षक मेघराज अर्याल २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। विभागीय मूल्य, मान्यता तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा प्रहरी निरीक्षक अर्याललाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरी निरीक्षक अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले प्रत्येक मतदान केन्द्रको सुरक्षाका लागि प्रभावकारी रूपमा मोबाइल कमाण्डर ड्यूटी परिचालन गर्नुका साथै मातहतका प्रहरी कर्मचारीलाई आवश्यक हातहतियार र सामग्रीसहित व्यवस्थित रूपमा परिचालन गरेका थिए।निर्वाचन लक्षित इन्ट्री कार्यलाई त्रुटीरहित बनाउन उनले स्वयं सक्रिय सहभागिता जनाएका थिए। साथै, निर्वाचन सेल कमाण्डरको जिम्मेवारी सम्हाल्दै उनले निर्वाचन पश्चात मतपेटिका सुरक्षित ढुवानी गर्न मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी नेतृत्व दिएका थिए। उनको कुशल नेतृत्व र समन्वयका कारण संखुवासभा जिल्लामा निर्वाचन कार्य शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीद्वारा हस्ताक्षरित निर्णयअनुसार प्रहरी निरीक्षक अर्यालको कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो। जिल्ला प्रहरी कार्यालयबाट फागुन महिनामा ९ सय २४ जनाले सेवाग्राहीले सेवा लिएका थिए ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि